

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार ओडिसाका उच्च शिक्षामन्त्रीसँग फोनमा कुराकानी गरेकी छिन्।
मन्त्री डा. राणाले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरिन्।
सो फोनवार्ताका क्रममा भारतीयमन्त्री सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका थिए।
साथै, उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी मन्त्री डा. देउवालाई गराएका थिए।
त्यसैगरी, मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्ने गरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी पनि दिएका थिए।
कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट खालको रहेको र यो सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताएका थिए। यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्।
हिजो मात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका छन् भने भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले कलेज प्रशासनसँग कुराकानी गरेका छन्।