नेपाली युवा टोलीले काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० ले पाखा लगाएको हो । नेपाल समग्रमा २५–१४, २५–२३ र २८–२६ ले विजयी भयो । नेपालले पहिलो सेटमा २५–१४ को सहज जित निकालेको थियो । त्यसछिका दुई सेट जित्न नेपाली युवा खेलाडीले संघर्ष गर्नुपरेको थियो । घरेलु टोलीले दोस्रो तथा तेस्रो सेटमा कमब्याक गर्ने कोसिस गरे पनि जित निकाल्न सकेन ।
दोस्रो सेटमा नेपाल र श्रीलंकाबिच कडा प्रतिस्पर्धा भयो । दुवैले एक–एक अंक जोड्न मिहिनेत गरेका थिए । तर, नेपालले श्रीलंकाली खेलाडीको गल्तीमा अंक बटुल्दै बाजी मार्यो । दुई सेटले अगाडि रहेको नेपालले तेस्रो सेट सहजै जित्ने लक्ष्य राखेको थियो । श्रीलंकालाई तेस्रो सेट जित्दा मात्र खेलमा फर्किने मौका थियो ।
श्रीलंकाले तेस्रो सेटमा जित जित्ने निकाल्ने रणनीतिका साथ प्रतिस्पर्धा गर्यो । नेपाली युवा खेलाडीले पनि श्रीलंकाको प्रत्येक कमजोरीको फाइदा उठाउँदै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए । तेस्रो सेटमा २६–२६ को स्थितिमा पुग्दा खेल कुनै पनि पक्षमा जान सक्थ्यो । तर, नेपालले लगातार २ अंक बटुल्दै २८–२६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा सानदार सुरुवात गरेको हो ।
उज्वेकिस्तानविरुद्ध खेल्दै नेपाल २६ असोजसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले २१ असोजमा उज्वेकिस्तानको समान गर्नेछ । त्यसपछि २२ असोजमा नेपाल र माल्दिभ्सबिच खेल हुनेछ । नेपालले चौथो खेलमा २४ असोजमा किर्गिस्तानविरुद्ध खेल्नेछ । नेपालले पाँचौँ खेलमा २५ असोजमा तुर्किमेनिस्तानसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछ । उपाधि भिडन्त २६ असोजमा हुनेछ । नेपाल भलिबल संघले गत महिना काठमाडौंमा भएको यू–१९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । गत साउनमा नेपालको युवा टोलीले माल्दिभ्समा भएको काभा यू–२० च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो