बनेपा / बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव-२०८१ को उद्धघाटन आज भब्य रुपमा भएको छ ।
‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ आजदेखि संचालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन बनेपा पार्टी भेन्युबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच , झाकी सहित विभिन्न संघ संस्था , कलेज , क्लबको सहभागितामा र्यालीको आयोजना गरिएको थियो ।आज बाट सुरु भएको महोत्सवको बागमती प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री माननीय कुन्दन राज काफ्लेले उदघाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रवर्द्धन गर्न प्रदेश सरकार अग्रसर रहेको बताएका हुन । व्यवसायको सुरक्षा राज्यको दायित्व भएको भन्दै व्यवसायीले पनि कर तिरेर सहयोग गर्नुपर्ने बताए । स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले मेला महोत्सवले स्थानीय उत्पादन तथा कलाको संरक्षण तथा प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले महोत्सव सफलताको कामना गरेका थिए ।
महोत्सवमा बिभिन्न बिधाका खेलकुद, गायन , नृत्य ,धिमे बाजा प्रतियोगिताका साथ साथै प्रत्येक दिन चर्चित राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।