१४औँ महाधिवेशनपछि २–१० साउन ०८० मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा अनलाइन सदस्यता वितरण गर्ने, डिजिटल अभिलेख राख्ने र एक वर्षमा सात लाख नयाँ सदस्य थप्ने महत्वाकांक्षी योजना प्रस्ताव पेस भयो । महामन्त्री गगन थापाको सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्तावअनुसार उद्देश्य पूरा गर्न ०८१ असार मसान्तसम्म एकवर्षे ‘घरघर जाऊँ पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरियो । अभियानअन्तर्गत पाँचदेखि सात लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले राखिएको थियो ।
‘अनलाइन सदस्यता वितरण गर्ने । साउनदेखि ३१ असार ०८१ सम्म एकवर्षे ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान गर्ने । पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने,’ महामन्त्री थापाले केन्द्रीय समितिमा गरेको प्रस्तावको १० नम्बर बुँदामा भनिएको छ । तर, निर्णयको १४ महिने अवधिमा कांग्रेसको डिजिटल बन्ने रहन भने व्यावहारिक रूपमा सफल हुन सकेन ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सदस्यता वितरण सहज बनाउने र नयाँ सदस्य थप्ने योजना लक्ष्यअनुसार हुन नसकेको बताउँछन् । उनले अनलाइनमार्फत सदस्यता वितरणको प्रयास गरे पनि न्यून मात्रामा आवेदन परेको बताए । अनलाइन सदस्यता भरे पनि फर्म डाउनलोड गर्नैपर्ने व्यवस्थाले अनलाइन सदस्यता वितरण असहज भएको कांग्रेसको अनुभव छ । ‘पार्टीबाट निर्णय गरेर नै हामीले सदस्यता वितरणलाई सहज बनाउन खोजेको हो । तर, व्यावहारिक रूपमा अनलाइनबाट सदस्य बनाउने काम सम्भव हुन सकेन । ज्यादै न्यून रूपमा सदस्यताका लागि आवेदन परेका छन् । जुन लक्ष्यको एक प्रतिशत पनि छैन । अहिले क्रियाशील सदस्यका लागि हार्डकपी र नयाँ सदस्यताका लागि फर्म जिल्लामा पठाएका छौँ,’ उनले भने ।