बंगलादेशमा सरकारविरोधी पछिल्लो प्रदर्शनमा एकै दिन ९१ जनाको मृत्यु भएको छ । आइतबार भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको हो ।झडपमा दुई सयभन्दा बढी घाइते भएका र १४ सुरक्षाकर्मी मारिएका भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।
प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ सरकारविरोधी प्रदर्शनकारी र सरकार समर्थकबीच आइतबार दिनभर झडप भएको थियो । सामाजिक सञ्जालमा देखाइएका भिडियोमा ढाकामा खचाखच भिडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बंगलादेशी झन्डा फरफराएका थिए । निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीले जुलाईमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शन प्रधानमन्त्री सेख हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिको रूपमा लिइएको छ ।
आइतबार ढाकाका विभिन्न स्थान, उत्तरी जिल्ला बोगरा, पबना, रंगपुर र सिल्हेटका साथै पश्चिममा मागुरा, पूर्वमा कुमिल्ला, दक्षिणमा बरिसाल र फेनीमा भएका आन्दोलनमा एकै दिन ठूलो संख्यामा मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ । करिब १७ करोड जनसंख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।