साताको दोस्रो कारोबार अर्थात् सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
यस दिन नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ।
आइतबार ६२.५४ र सोमबार २२.१४ अंक गरी यो दुई दिनमा नेप्से ८४.६८ अंकले बढेको हो।
सोमबारको कारोबार रकम गत दुई महिनायताकै उच्च हो।
यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
आज ११ अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यो रकम त्यसयताकै उच्च हो।
आइतबार भने नौ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको थियो।
आइतबारको तुलनामा कारोबार रकममा १ अर्ब ५४ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०२ वटा धितोपत्रको दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन पाँच लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।