कल सेन्टरको आवरणमा कार्यालय राखेर अनलाइनमार्फत ठगी तथा क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन विदेशीसहित ५० जनालाई पक्राउ गरेको छ । ललितपुरको एकान्तकुनामा घर भाडामा लिएर चिनियाँ नेतृत्वको गिरोहले विश्वभरि नै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई चिनियाँ, एक फिलिपिनी र अन्य ४७ नेपालीलाई पक्राउ गरेको हो । त्यसमध्ये ४२ जना सामान्य कामदार मात्र देखिएकाले उनीहरूलाई छाडिएको र अन्य आठजनाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । थुनामा राखिएकामा चिनियाँहरू डिङ जियाहोङ र लिन क्विनजिन छन् । फिलिपिन्सका हनिपा सिन्सुवात भाषा अनुवादकका रूपमा कार्यरत थिए । कल सेन्टरमा चिनियाँहरूको ग्रुप लिडरका रूपमा काम गर्दै आएका रौतहटका कमल कँडेल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान, विजयबहादुर गिरी र घर भाडामा लिएर चिनियाँलाई लगाउने नवलपरासीका सुदीप अधिकारी छन् ।
कल सेन्टरबाट महिला बनेर विभिन्न डेटिङ एपमार्फत विश्वभरिका मान्छेसँग कुरा गर्न लगाउने र क्रिप्टोमा लगानी गर्न लगाएर ठगी हुने गरेको एसपी बोगटी बताउँछन् । चिनियाँ र फिलिपिनीले विगतमा दुबईमा यस्तो अपराध गरेकोमा त्यहाँ पक्राउ परी डिपोर्ट गरिएकोसमेत खुलेको छ । ‘त्यसपछि उनीहरूले नेपालमा आएर यस्तो काम सुरु गरेको देखिन्छ,’ एसपी बोगटीले भने । पक्राउ परेकाउपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरअन्तर्गत कारबाही अघि बढेको छ । सो घरबाट प्रहरीले मोबाइल, ल्यापटपलगायत सामान बरामद गरी विस्तृत अनुसन्धान अघि बढाएको छ ।