विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि १४–१ को फराकिलो जित निकालेको छ । आर्मीको सानदार जितमा दीपा शाहीले सर्वाधिक पाँच र अनिता लम्जेलले दुई गोल गरेका छन् । जितसँगै तीन खेलमा ६ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित कोशी प्रदेश शीर्ष र सात अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ ।
आर्मीले वालिङ नगरपालिकालाई ४–० ले हराएको थियो । विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबसँग २–१ ले पराजित भएको थियो । आर्मीले तीन खेलमा १९ गोल विपक्षीको पोस्टमा गरेको छ । सुदूरपश्चिम लगातार तेस्रो खेलमा फराकिलो अन्तरले पराजित भएको छ । अंकविहीन सुदूरपश्चिम पुछारमा छ । सुदूरपश्चिमले तीन खेलमा २९ गोल व्यहोरेको छ । सुदूरपश्चिमले विपक्षी पोस्टमा दुई गोल फर्काएको छ । सुदूरपश्चिम पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ र नेपाल पुलिस क्लबसँग ९–० ले पराजित भएको थियो ।
एन्फा कम्प्लेक्समा सुदूरपश्चिमविरुद्ध आर्मीका विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सञ्जु कुमाल, विमला विक र सावित्रीदेवी मगरले समान एक गोल गरे । दुवै टोलीले समान एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त गरेका थिए । प्रतिस्पर्धाको छैटौँ मिनेटमा विमलाले आर्मीलाई १–० को अग्रता दिलाइन् । खेलको १५औँ मिनेटमा हिमाले २–० का लागि गोल गरिन् । खेलको २१औँ मिनेटमा सुदूरपश्चिमकी शान्ति विकले आत्मघाती गोल गर्दा आर्मी ३–० ले अगाडि बढ्यो । ह्याट्रिक गरेकी दीपाले खेलको २४औँ मिनेटमा ४–० का लागि गोल गरिन् ।
इन्जुरी समयमा दीपाको ह्याट्रिकसुदूरपश्चिमको कमजोर रक्षापंक्तिको फाइदामा आर्मीले पहिलो हाफमै ८–० को अग्रता लिएको थियो । मध्यान्तरअघि नै दीपाले आफ्नो ह्याट्रिक पूरा गर्न सफल भइन् । खेलको ३०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गर्दा आर्मी ६–० ले अघि रह्यो । खेलको ४५औँ मिनेटमा सञ्जुले आर्मीलाई ७–० को बलियो स्थितिमा राखिन् । पहिलो हाफको इन्जुरी समयमा दीपाले ह्याट्रिक पूरा गरिन् । दोस्रो हाफमा पनि आर्मीले गोल गर्ने क्रमलाई जारी नै राख्यो । आर्मीले दोस्रो हाफमा ६ गोल थपेको थियो ।
दीपाले खेलको ५३औँ र ६१औँ मिनेटमा गोल गर्दै आर्मीको अग्रता १०–० को बनाइन् । खेलको ६३औँ मिनेटमा विमला विकले आर्मीका लागि ११औँ गोल गरिन् । खेलको ८१औँ मिनेटमा आर्मीले १२–१ ले अघि रह्यो । खेलको अन्तिम इन्जुरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई १४–१ को सानदार जित दिलाइन् ।
आर्मी र सुदूरपश्चिमको खेलसँगै एन्फा महिला लिगको तेस्रो राउन्डका खेल सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ