ललितपुर / विषेश अदालतले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ।
दुई महिनाअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध लगाएको भ्रष्टाचार मुद्दाबाट विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो।
प्रदेश कानुनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानुन बनाएको दाबी गर्दै अख्तियारले उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा लगाएको थियो।
गोदावरीको ढुंगा-गिटी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रूपैयाँ हानिनोक्सानी पुर्याएको भन्ने अख्तियारको दाबी थियो।
अदालतले भने मेयर, उपमेयर, प्रशासकीय अधिकृत लगायतले कानुन अनुसार नै राजस्व उठाएको देखिएको भन्दै अख्तियारको दाबी नपुग्ने फैसला गरेको छ।