काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ।
वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ।
यस पर्वलाई गुँला किन भनियो भन्ने बारेमा धेरै मतभेद तथा अख्यानहरु रहेको पाइन्छ। विभिन्न इतिहासकारका अनुसार गुँ भनेको नेपालभाषामा डाँडा हो, र ला भनेको महिना हो। यस समयमा भारी वर्षाका कारण बाढी, पहिरो आउने भएकोले त्यसो नहोस् भनी प्रकृतिको पूजा गरिने भएकोले गुँला भनिएको बताउँछन्।